नेपाली साहित्यकार विश्व सञ्जालद्धारा गजलकार डा. घनश्याम परिश्रमीको ६४औँ जन्मदिवस, सम्मान र गजल वाचन सहित भव्य सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । असार १६, विश्वभर छरिएर रहनु भएका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक विश्व सञ्जालले फेसबुक मार्फत यौटै छाता मुनी जोडेर म्यासेन्जरमा नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराईरहेको छ र नेपाली साहित्यका बिबिध विधा नबुझेर वा बाटो बिराएर अन्यौलमा परेका र सिक्न चाहने सर्जकका लागि नमुना पाठशाला बनेको छ।

यस समुहले नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा अतुलनीय योगदान दिनुहुने आदरणीय अग्रजहरूलाई सम्मानको संस्कार पुस्तान्तरण गर्न जिवित छँदै जन्म दिवस मनाएर सम्मान गर्ने संस्कारको थालनी गरेको छ।

गजल विद्वच्छिरोमणि डा. घनश्याम न्यौपाने परिश्रमीको ६४औ जन्म दिवसको अवसरमा सम्मान तथा उहाँकै नव प्रकाशित कृति ‘निभेका शिखा’ बाट गजल वाचन कार्यक्रममा उपस्थित अतिथि साहित्यकारहरूलाई कमला महतले स्वागत गर्नु भएको थियो।

वरिष्ठ कवि गोविन्दराज विनोदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको शुरुवात डा. घनश्याम न्यौपाने परिश्रमीकी ममतामयी आमा तारादेवी न्यौपानेद्धारा गजलकार डा. परिश्रमीलाई दोसल्ल्ला ओढाएर र प्रमुख अतिथि विनोदीद्धारा सम्मान पत्र पढेर उहाँलाई सम्मान गरिएको थियो।

प्रमुख अतिथि: वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले डा. घनश्याम न्यौपाने परिश्रमीलाई ६४औ जन्म दिवसको मंगल कामना गर्दै शुभकामना व्यक्त गर्नु भयो। ‘’जीवनको कारुणीक पक्षको उद्घाटन गरी अत्यन्त मार्मिक गजल लेख्नु हुने डा. घनश्याम अन्तराष्ट्रिय जगतकै अत्यन्त उच्च गजलकार हुनुहुन्छ, प्राज्ञ हुनुहुन्छ। प्राज्ञ हुनलाई प्रज्ञा प्रतिष्ठानका सदश्य मात्र हुन पर्दैन। उहाँ हामी सबैका प्राज्ञ व्यक्तित्व हुनुहुन्छ । नेपाली साहित्यका हरेक विधामा उत्तिकै शशक्त कलम चलाउनु हुन्छ। कविता, भूमिका लेखन, समालोचना, मुक्तक, निबन्ध आदि दर्जनौ विधामा उत्तिकै उत्कृष्ट लेख्नुहुन्छ।

सबै भन्दा ठूलो उहाँ राष्ट्र भक्त हुनुहुन्छ । स्वाभिमानी, सरल, आफ्नो निर्णयमा दृढ व्यक्ति हुनुहुन्छ। शब्दयात्री हुनुका साथै नेपाली गजलका विद्वत् व्यक्ति र नेपाली गजल पुनर्जागरणका प्रमुख हस्ति हुनुहुन्छ।” उहाँको भनाई थियो। यस्ता व्यक्त्तित्वको उचित सम्मान गर्दै यो जटिल परिस्थितिमा पनि प्रविधिको प्रयोग गरेर यस्तो अतुलनीय कार्य गर्ने नेपाली साहित्यकार विश्व सञ्जाल तथा कवि तथा गजलकार स्पन्दन विनोदलाई धन्यवाद दिँदै प्रशंसा गर्नु भएको थियो।

विशिष्ठ अतिथि गजलविद्वच्छिरोमणि तथा कार्यक्रमका मुख्य आकर्षक डा. घनश्याम परिश्रमी रहेको उक्त कार्यक्रममा वक्ताका रुपमा कवि कविराज पौडेल तथा गजलकारर गजल चिन्तक देवी पन्थी उपस्थित थिए भने गजल वाचनका लागि प्रभाती किरण, सीता पन्त कँडेल, रीता पोखरेल, सत्यराज जोशी, शिव त्रिपाठी, चिरन्जीवी सिग्देल, सुशिला शर्मा, कमला महत, सरु बस्नेत नेपालबाट रहेका थिए भने सीता घिमिरे पौडेल, बेलायत र बाल कुमारी घिमिरे, अमेरिकाबाट रहेका थिए।

स्पन्दन विनोदको संयोजन र अध्यक्षता र स्पन्दन विनोदकै प्रस्तुतीमा सम्पन्न उक्त कार्यक्रमको शुरुमा स्पन्दन विनोदले गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीको छोटो परीचय प्रस्तुत गरेका थिए भने उहाँ प्रति समर्पित गजल र उहाँकै यौटा गजल वाचन गरेका थिए।

वाचनका लागि उपस्थित साहित्यकारहरूले जीवितै छँदा जन्मदिन मनाउने र आदरणीय व्यक्तित्वको उच्च सम्मान गर्ने परिपाटीको थालनी गर्ने नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार तथा कवि गजलकार स्पन्दन विनोदको खुलेर प्रशंसा गरेका थिए।

छन्द अभियन्ता कविराज पौडेलले “ गजल लेखनमा प्रवर्द्वन गर्ने नेपालमा गजलको सैद्धान्तिक र सिर्जनात्मक दुवै पक्षलाई एकै साथ लिएर अघि बढ्ने डा. परिश्रमी प्रेरक व्यक्तित्व हुनुहुन्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतकै गजल र छन्द दुवैका उज्ज्वल नक्षत्र हुन् र १४,१५ बर्षकै कलिलो उमेर देखि नेपाली भाषा र साहित्यको अनवरत सेवा गर्नु हुने डा.घनश्याम अत्यन्त सम्मानित धरोहर हुन्।’’ भन्दै उहाँसँगका अनुभवहरू प्रस्तुत गर्नुभयो। उनले प्रज्ञा प्रतिष्ठानद्वारा डा. परिश्रमीलाई प्रदान गरिएको गजलविद्वच्छिरोमणि सम्मानलाई स्पन्दन विनोद लगायतले सम्मानपूर्वक प्रयोग गर्दा खुशी व्यक्त गरेका थिए।

“मोतिराम भट्टद्धारा नेपाल भित्रिएको गजल विभिन्न विसंगतिहरूमा रुमलिरहेको थियो तर डा. घनश्याम न्यौपाने परिश्रमीले यसलाई सही बाटोमा हिडाउनु भएको छ” गजल चिन्तक देवी पन्थीले भने।” गजलको पुनर्जागरणका लागि लेखेर हरेक क्षेत्रमा पुगेर अद्वितीय योगदान गर्नु हुने डा. घनश्याम न्यौपाने गजलका लागि मरि मेट्ने र नेपाली साहित्यका हरेक विधामा उत्प्रेरणा जगाउने व्यक्तित्व हुन। यस्ता आदरणीय व्यक्तित्वको यसरी जन्मदिन मनाएर सम्मान गर्ने चलन सुरुवात गर्ने नेपाली साहित्यकार विश्व सञ्जाल र स्पन्दन विनोदको सह्रानीय कार्यको प्रशंसा गर्दछु” उहाँको भनाई थियो। “गजलमा महिला सौन्दर्य र प्रेम मात्र होइन सामाजिक विषय वस्तु लिएर पनि गजल लेख्न सकिन्छ भन्ने कुराको वीजारोपण गर्ने व्यक्ति डा. परिश्रमी हुन्। उनको यो योगदान नेपालले मात्र होईन विश्व साहित्यले नै भुल्न सक्दैन। अंग्रेजीमा पनि गजल लेख्न कसरी सकिन्छ भनेर सिद्धान्त बनाई सक्नु भएको छ।” गजलकार पन्थीको भनाई थियो ।

गजल भनेर लामो समयसम्म नेपालमा प्रयोग गरिदैँ आएको गजल जस्तै रचनालाई चारु, राग, विरागको नाम दिएर छुट्टै विधामा राख्ने पहल गरेर नेपाली साहित्यमा नेपाल देखि भारतसम्म गजलको परिवर्तित स्वरुपका बारेमा निरन्तर आन्दोलन गरिरहेका देवी पन्थीले अहिले धेरैले गजल के हो र यसको सिद्धान्त के हो भन्ने बुझेर लेख्न थालीसकेका बताए।

डा. न्यौपानेका ममतामयी आमा–तारादेवी न्यौपाने, अर्द्धांङ्गिनी –राधादेवी न्यौपाने सहित सपरिवारले जुम लाईभमै केक काटेर शुभकामना आदान प्रदान गरेका थिए । जुम मार्फत यसरी अभिनन्दन गरिएको र केक काटेर जन्मदिन मनाईएको सम्भवतस् पहिलो ऐतिहासिक कार्यक्रम हो भन्ने स्पन्दन विनोदको भनाई थियो। यो मनमोहक खुशीयाली साँच्चै हेर्न लायक र उत्साहले भरिएको थियो।

उपस्थित सबैले गजलकार डा. परिश्रमीकै नव कृति ‘निभेका शिखा’ बाट गजल वाचन गरेका थिए। यसरी नेपाली साहित्यकार विश्व सञ्जालले राष्ट्रका महान व्यक्तित्व हरूलाई जिवितैमा उच्च सम्मान गरी जन्मदिवस मनाउने, रथारोहण गर्ने जस्ता कार्यहरू गरी रहेको सञ्जालका परिकल्पनाकार स्पन्दन विनोदले जानकारी गराए। उक्त कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो, र कार्यक्रममा उपस्थित भई गजल वाचन गर्नुहुने सबैलाई सम्मान स्वरुप प्रशंसा पत्रको पनि व्यवस्था गरिएको थियो।

कार्यक्रमलाई प्रविधिमा कुमार शर्माले सहयोग गरेका थिए। अन्यमा सबैलाई धन्यवाद दिँदै डा. परिश्रमीले सबैबाट प्राप्त यस प्रकारको मायाले अत्यन्त हर्षित भएको अवगत गराएका थिए। हर्षका साथ शुभकामना आदान प्रदान गरी कार्यक्रम समापन भएको थियो। निश्चित मापदणडमा रहेका हरेक विधाका अग्रजको यसरी नै आगामी दिनमा पनि जीवितै जन्म दिवस मनाईने परिकल्पनाकार स्पन्दन विनोदले कार्यक्रममा प्रकाश पारेका थिए। अत्यन्त रोमान्चक उक्त कार्यक्रम करिब ४ घण्टा लामो चलेको थियो।

प्रकाशित : 30 June, 2021

प्रतिक्रिया दिनुहोस्