सरकारले कोरोना बिमाको पैसा नदिँदा बिमाको भुक्तानी रोकियो

सहयात्रा टिभी

काठमाडौं । असार १७, कोरोना बिमामा सरकारले दिनुपर्ने रकम नआउँदा बिमितले दाबी गर्ने भुक्तानी पाएनन् ।

 

कोरोनाको दोस्रो लहरमा संक्रमण उच्च रहेकै बेला अत्यावश्यक सेवाअन्तर्गत पर्ने बिमा कम्पनीले कोरोना बिमाको दाबी भुक्तानी रोकेका हुन् ।

आफूले पाउनुपर्ने बिमा रकम नपाउँदा औषधोपचार गर्न अप्ठ्यारो मात्र होइन, बिमाप्रतिको विश्वास नै गुमेको संक्रमित बिमितको गुनासो रहेको छ ।

बिमा कम्पनीले भने सरकारबाट रकम नआउँदा भुक्तानी रोक्नुपरेको बताएका छन् ।

सरकारले व्यहोर्नुपर्ने रकम भुक्तानीका लागि बिमा समितिमार्फत कम्पनीहरूले तीन महिनाअघि सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेका थिए । तर यसबारेमा हालसम्म कुनै छलफल नै नभएको मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए ।

मापदण्डअनुसार बिमा कम्पनी, पुनर्बिमा, बिमा समिति, कम्पनीहरूको आकस्मिक कोषमार्फत बहन गर्नुपर्ने दायित्व पूरा भएकाले सरकारको आस गर्नुपरेको समितिले बताएको छ ।

कोरोना बिमा मापदण्डमा उल्लिखित व्यवस्थाअनुसार सरकारले व्यहोर्नुपर्ने दायित्वअन्तर्गतको रकम मागिएको हो । २०७७ जेठमा बिमा समिति, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकारबीच भएको सहमतिअनुसार कोरोना बिमामा परेका दाबीमध्ये पहिलो १० हजारको दाबी भुक्तानी बिमा कम्पनीहरूले नै भुक्तानी गर्नुपर्नेछ ।

कोरोना बिमाअन्तर्गत गत सातासम्म ९७ हजार ६ सय २८ वटा दाबीको कागजात पूरा भएको छ । यो करिब ९ अर्ब ३७ करोड रुपैयाँ बराबर हो । तीमध्ये ८० हजार २ सय ८६ दाबी भुक्तानीका लागि स्वीकृत भइसकेका छन । यो करिब साढे ७ अर्ब रुपैयाँ बराबर हो । योमध्ये करिब ४ अर्ब ८१ करोड रुपैयाँ बराबर रकम कम्पनीहरूले भुक्तानी गरिसकेका छन् । परेका दाबीमध्ये करिब साढे ५ देखि ६ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । एजेन्सीको सहयोगमा

 

प्रकाशित : 1 July, 2021

प्रतिक्रिया दिनुहोस्