स्पेन र इटाली युरोकपको सेमिफाइनलमा

सहयात्रा टिभी

काठमाडौँ । असार १९, स्पेन र इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै स्पेनले अन्तिम चारमा स्थान बनाएको हो भने बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनल पुगेको हो ।

फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्‍यो ।

यस अघि बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको थियो । इटालीले प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रकाशित : 3 July, 2021

प्रतिक्रिया दिनुहोस्