हट्यो सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली

काठमाडौं । असार २१, सार्वजनिक सवारीसाधन सञ्चालनका लागि काठमाडौं उपत्यकामा जारी रहेको जोरबिजोर प्रणाली मंगलबारदेखि हट्ने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्धारा जारी निषेधाज्ञा सम्बन्धी सूचनामा भनिएको छ, “काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरु स्वीकृत सिट क्षमता अनुसार मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनेछन् ।”
चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनु पर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने, सफा टेम्पो तथा निलो माइक्रोले पनि सबै खाले स्वास्थ्य सुरक्षामा बुँदा मापदण्ड पालना गरी संचालन गर्ने सक्ने सूचनामा उल्लेख गरीएको छ ।
सूचना अनुसार, पछाडि तेस्रो सिटमा ४/४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रु भन्दा नबढाउने गरी टेम्पो तथा निलो माइक्रोले यात्रु सवार गर्न पाउनेछन् भने सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनु पर्नेछ ।
सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउनेछन् ।