मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यादव बर्खास्त

सहयात्रा टिभी

काठमाडौँ । असार २२, मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ । यादवले आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको विश्वविद्यालयको निष्कर्ष छ ।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए ।

विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले मनलाग्दी रुपमा नम्बर दिएको उजुरी विद्यार्थीहरुबाट परेको थियो । त्यस विषयमा छानबिन गर्न दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिले अक्षम्य अपराध गरेकाले विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयमा कन्सट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय पढाइ हुन्छ । स्ट्रकचरल इन्जिनियरिङ विषयको अन्तिम परीक्षाको प्रयोगात्मकमा आफूखुसी नम्बर दिएको पाइएको छानविन समितिको ठहर छ । प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । सो परीक्षामा १३ जना विद्यार्थीहरुलाई ४० मा ४० नम्बर दिएको पाइएको छ । यसैगरी स्ट्रक्चरल इन्जिनियरिङका चार वटै विषयमा विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिइएको छ ।

परीक्षामा अनियमितता गरेको भनेर गल्तीसमेत स्वीकारेकाले कारबाही गरिएको उपकुलपति सिंहले बताए ।

प्रकाशित : 6 July, 2021

प्रतिक्रिया दिनुहोस्