सन्दीप क्रिकेट खेल्न बेलायत प्रस्थान

काठमाडौं । असार २४, ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न आज राति टर्कीस एयरबाट नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् ।
बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उहाँका व्यवस्थापक रमन सिवाकोटीले बताए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनुहुनेछ ।
‘द हन्ड्रेड’ प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो ।
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका छन् ।