मेलम्चीको पानी आउन अझैँ तीन महीना कुर्नुु पर्ने

काठमाडौं । असार २५, काठमाडौँ उपत्यकामा पुनःमेलम्चीको पानी ल्याउन कम्तीमा तीन महीना लाग्ने भएको छ ।
मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र सङ्घका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ ।
हाल सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
सुधारका काम लामो समय लागेमा पानी सुन्दरीजल आउने अवधि अझै लम्बिन सक्ने देखिएको छ । उहाँका अनुसार वर्षा भइरहँदा तत्काल खुलाइएका सडक पुनःअवरुद्ध हुने सम्भावना हुन्छ ।
पछिल्लो समय चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाका बाँकी निर्माण अघि बढाइरहेको छ । आयोजनअन्तर्गतको सुरुङ, हेडवर्क र पानी प्रशोधन केन्द्रमध्ये अहिले हेडवर्क मात्रै सम्पन्न हुन बाँकी छ ।
समितिले आयोजनाको मर्मतको कामलाई तत्काल र दीर्घकालीन काम गरी छुट्याएको छ । तत्काल गर्नुपर्ने काममा प्रवेशमार्ग निर्माण र मर्मतको काम रहेको छ । प्रवेशमार्गमा रहेका पुल र सडक निर्माण पहिले गर्नुपर्ने सूचना अधिकारी पन्तले बताउनुभयो । प्रवेशमार्गको निर्माण गरेर अम्बाथानसम्म पुग्न सकिन्छ । आयोजनस्थलसम्म पुगेपछि त्यहाँ रहेका अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोलिने उहाँले बताउनुभयो ।
अम्बाथान अडिट र डाइभर्सन टर्नेल खोल्दासम्म मेलम्ची नदीमा पानी सफा भयो भने पुनःडाइभर्सन गनरेर पानी ल्याउन सकिने समितिले जनाएको छ । अहिले ढुङ्गा, बालुवा थुपारेर सतह डाइभर्सन टनेलको मुखभन्दामाथि पुगिसकेकाले त्यो पनि हटाउनुपर्ने सूचना अधिकारीले पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनास्थलमा मर्मत गर्न अहिले रु एक अर्ब लाग्ने हामीले अनुमान गरेका छौँ ।” एजेन्सी