इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो युरोकपको उपाधि

सहयात्रा टिभी

काठमाडौँ । असार २८, इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो ।

यससँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा इटालीले बाजी मार्‍यो । खेलमा सुरुवाती अग्रता इंग्ल्यान्डले बनाएको थियो ।

खेलको दोस्रो मिनेटमा लुक शले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । उनले किएरन ट्रिपिएरको क्रसमा वान टच गोल गरे ।

तर, खेलको ६७ औं मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा फर्काए । मार्को भेराट्टीको हेडर पोस्टमा लागेर फर्किएको बलमा उनले गोल गरेका हुन् ।

५३ वर्षपछि पहिलो पटक युरोकप जितेको इटलीले १५ वर्षपछि ठूलो प्रतियोगिताको उपाधि जितेको हो । सन २००६ मा इटलीले विश्वकप उपाधि जितेको थियो । सन् १९६८ मा युरोकप जितेको इटलीले २००० र २०१२ मा पनि युरो फाइनल खेलेको थियो । तर उपविजेतामै सीमित भएको थियो ।

उता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको इंग्ल्याण्डले पहिलो पटक युरोकपको फाइनल खेलेको थियो ।

प्रकाशित : 12 July, 2021

प्रतिक्रिया दिनुहोस्