खोप त ल्याउँने तर भण्डार स्थल खोई?

काठमाडौं । असार २८, चीन तथा अमेरिकाबाट एकै चोटि ठूलो संख्यामा खोप आउँदै छ, तर सरकारले न त खोप लगाउने तालिका बनाएको छ न त भण्डारणको राम्रो व्यवस्थानै गरेको छ ।
त्यस्तै पछिल्लो समय चीनबाट खरिद गरिएको ४० लाखमध्ये ८ लाख डोज खोप ल्याउँदा नै काठमाडौंको टेकुस्थित केन्द्रीय भण्डारणमा ठाउँ अभाव भएको छ । जब कि अब अमेरिकाबाट १५ लाख र चीनबाट थप ३२ लाख डोज खोप आउँदै छ ।
टेकुस्थित भण्डारस्थल बनाउने भनिएको जग्गा अहिले पार्किङस्थल बनेको छ । ‘ठेक्का लागेको भवन बनेको भए अहिले भण्डारणको समस्या पर्दैनथ्यो,’ विभागका एक कर्मचारीले भने, ‘२ देखि ८ डिग्रीमा राख्न मिल्ने खोप ल्याउँदा त भण्डारणको समस्या छ भने माइनस २० डिग्रीमा राख्नुपर्ने खोप कसैले अनुदान नै दिए पनि राख्न समस्या हुन्छ ।’
अमेरिकाले दिने १५ लाख डोज जोन्सन एन्ड जोन्सन कम्पनीको खोप सोमबार ल्याइँदै छ । यो खोप रोटा भाइरसविरुद्धको खोपका लागि छुट्याएको ठाउँमा राख्ने तयारी छ ।
भण्डारणको अभाव भएको यो बेला आइसकेको खोप खपत गर्ने तदारुकता पनि देखिएको छैन । जनता खोपको पर्खाइमा छन् तर सरकारले खोप लगाउने कार्यतालिका अझै सार्वजनिक गरेको छैन । काठमाडौं उपत्यकाबाहिर ६२ वर्षभन्दा माथिकाले र उपत्यकामा ६० वर्षभन्दा माथिकाले खोप लगाइसकेका छन् । एजेन्सी