बाघ जोगाउन ‘बाघ संरक्षण विशेष कार्यक्रम’ घोषणा

काठमाडौं । असार २८, गत शनिबार गुलरिया–३ हस्नापुरकट्टीमा खेतमा घाँस काट्न पसेका वीरेन्द्र यादव र राकेश बानियाँलाई बाघले झम्टि घाइते भई बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार गराईरहेको छ ।
उक्त बाघ भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षबाट निस्केको आशंका बर्दिया वन कार्यालयको गरेको छ ।
त्यस्तैगरी गत चैत कञ्चलपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकले एउटा मरेको बाघ देखे । पासोमा परेको जस्तो लाग्ने बाघको घाँटीमा गहिरो घाउ थियो । बर्दिया निकुञ्जमा गैंडा गणनामा खटिएका हात्तीसारका एक कर्मचारीको बाघको आक्रमणमा मृत्यु भयो ।
निकुञ्जभित्र र बाहिरसमेत पाटे बाघको संख्या उल्लेख्य बढेर नजिकका बस्तीमा दुःख दिएका घटना बढेपछि सरकारले ‘बाघ संरक्षण विशेष कार्यक्रम’ घोषणा गरेको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको राष्ट्रिय बाघ संरक्षण समितिको बैठकले हरेक वर्ष १५ करोड रुपैयाँ खर्चने गरी उक्त कार्यक्रम घोषणा गरेको हो ।
निकुञ्ज विभागका सूचना अधिकारी इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संरक्षण रणनीति र कार्ययोजनामा प्रस्ताव गरिएबमोजिम बाघ संरक्षणसम्बन्धी विषयमा सरकारलाई नीतिगत सहयोग गर्न २०६७ जेठ २ मा प्रधानमन्त्री अध्यक्ष रहने गरी समिति बनाइएको थियो । समितिमा गृह, अर्थ, रक्षा, वन तथा वातावरण र कानुनमन्त्री सदस्य हुन्छन् भने बाघमा काम गर्नेमध्येबाट २ र बाघ संरक्षणमा काम गर्ने संस्थामध्येबाट एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।