देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दै, आजै सानो मन्त्रिपरिषद् गठनको तयारी
काठमाडौँ । असार २९, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दै छन् । संसद विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले विघटन बदर र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै देउवा प्रधानमन्त्री बन्न लागेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई आज साँझ शपथ गराउँने तयारी गरेकी छन् । अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश दिएको थियो ।
देउवाले आजै सानो आकारको मन्त्रिपरिषद बनाउने र गठबन्धनलाई अघि बढाउने योजनाबारे छलफल गरेका छन् ।
पहिलो चरणमा देउवाले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूहबाट सानो मन्त्रिपरिषद बनाउने तयारी गरेका छन् । गठबन्धनमा आबद्ध एमालेको माधव नेपाल समूह भने सरकारमा सहभागी नहुने भएको छ ।
४९ वर्षको उमेरमा देउवा २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसपछि २०५८ साउन ११, २०६१ जेठ २१ गरी तीन पटक प्रधानमन्त्री भएका देउवा संविधान जारी भएपछि २०७४ जेठ २७ मा चौथो पटक प्रधानमन्त्री बनेका थिए ।
देउवा नेपालको इतिहासमै अदालतको आदेशबाट पहिलोपटक प्रधानमन्त्री बन्न लागेका हुन् ।