आजबाट देशका ७७ वटै जिल्लामा खोप लगाइँदै

काठमाडौं । असार २९, सरकारले आजदेखि चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा ७७ वटै जिल्लामा लगाउने भएको छ।
भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह छुट्याएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइने छ भने भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने छ।
त्यसैगरी आजै आएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ। जोनसन खोपको मात्रा एकपटक मात्र दिएपछि पुग्दछ।
हालसम्म नेपालमा कूल जनसङ्ख्याको ८.८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३.५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।