बागमती प्रदेशमा विद्युतीय बस संचालन

हेटौंडा । असार २९, सोमबार बसेको संसद् बैठकबाट बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेसँगै अब विद्युतीय बस चल्ने भएको छ।
आवश्यक पूर्वाधार तयार नगरी सरकारले बस खरिद गर्न लागेको भन्दै बजेटबाट बस खरिद कार्यक्रमलाई हटाउन प्रतिपक्ष दलहरूले माग गर्दै आएका थिए।
तर, संसदबाट सरकारको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट बहुमतले पारित गरेसँगै विद्युतीय बस सञ्चालन गर्न सरकारलाई बाटो खुलेको हो।
गत वर्ष विद्युतीय बस खरिद र सञ्चालनको लागि छुट्याएको २८ करोड रुपैयाँ खर्च गर्न नसक्दा फ्रिज भएको थियो भने चालु आर्थिक वर्षमा पनि ४० करोड रुपैयाँ फ्रिज हुने अवस्थामा छ।
खनिज इन्धनको बढ्दो खपत न्यूनिकरण गर्दै स्वदेशमै उत्पादित विद्युतको प्रयोग बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, बढ्दो सवारी चाप हटाउने, बढ्दो वायु तथा ध्वनी प्रदुषण न्यूनिकरण गर्ने र पेट्रोल तथा डिजेलमा हुने खर्चमा कमी ल्याउने उद्देश्यले विद्युतीय बस सञ्चालन गर्न लागेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।