आफ्नो जिवनकालमा पाँचौंपटक प्रधानमन्त्री बन्न सफलः शेरबहादुर देउवा

सहयात्रा टिभी

काठमाडौं । असार ३०, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री नियुक्त भएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

देउवासँगै ३ जना मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसालले शपथ ग्रहण गरेका हुन् ।

देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् ।

नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् ।

उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए ।

त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भए ।

सोही वर्ष असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक)का सभापति बने । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी काग्रेसको वरिष्ठ नेता भएका थिए । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

 

 

प्रकाशित : 14 July, 2021

प्रतिक्रिया दिनुहोस्