उपत्यकाका प्रजिअहरूको बैठक हुँदै, लामो दूरीको सवारी सञ्चालनको तयारी

सहयात्रा टिभी

काठमाडौँ । असार ३१, काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज हुँदैछ ।

आज अपराह्न ४ बजेका लागि तय गरिएको बैठकमा खुकुलो बनाउँदै लगिएको निषेधाज्ञामा लामो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनका विषयमा पनि छलफल हुने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले लामो दूरीका सवारी साधनबारे छलफल हुने जानकारी दिए । उहाँका अनुसार अहिलेकै अवस्थामा सञ्चालन गर्न दिने कि नदिने भन्नेबारे टुंगो लागिसकेको छैन ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि भन्ने विषयमा छलफल हुने बताए ।

काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा यसअघि लगाइएको जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ भने बाहिरबाट आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातलाई पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ ।

उपत्यकामा पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय आज राति १२ पछि सकिँदैछ । कोरोनाको दोस्रो लहर आएसँगै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रकाशित : 15 July, 2021

प्रतिक्रिया दिनुहोस्