मोटरसाइकल तथा स्कुटरको ट्याक्स कतिले बढ्यो ?

काठमाडौं । साउन १, सरकारले दुई पाङ्ग्रे सवारी साधनको कर बृद्धि गरेको छ ।
बागमती प्रदेश सरकार, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले श्रवण १ गतेदेखि लागू हुने गरी मोटरसाइकल तथा स्कुटरको दर्ता, नवीकरण र जाँचपास लगायतको सेवाको ट्याक्स बढाएको हो ।
ट्याक्स मोटरसाइकलको सीसी (इन्जिन क्षमता) अनुसार न्यूनतम २०० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्मले बढाइएको छ ।
त्यस्तै १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ट्याक्स ३,००० रुपैयाँ रहेको छ ।
१२५ सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरको ५,००० रुपैयाँ, १५० देखि २२५ सीसीसम्मकाको ६,५०० रुपैयाँ, २२५ देखि ४०० सीसीसम्मकाको अधिकतम ११,००० रुपैयाँ पुर्याइएको छ ।
त्यसैगरी ४०० सिसीदेखि ६५० र ६५० देखि माथिका सबै खाले मोटरसाइकल तथा स्कुटरको सवारी कर यथावत क्रमशः २०,००० र ३०,००० नै कायम गरिएको मन्त्रालयले बताएको छ ।
विद्युतीय सवारी साधनमा ३५० बाट देखि एकहजार वाटसम्मका सवारीमा २,००० रुपैयाँ, एक हजारभन्दा माथि १ हजार ५०० वाट सम्मको २,५०० रुपैयाँ र १ हजार ५०० भन्दा माथिका सवारीमा अधिकतम ३,००० रुपैयाँ ट्याक्स कायम रहेको छ ।
सवारी दर्ता, सरुवा दर्ता तथा सरुवा सहमति दस्तुरमा निजी, सरकारी, संस्थान र सरुवा सहमति दस्तुर बापत समान ५०० रुपैयाँ ट्याक्स लाग्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ भने सवारी साधन नामसारी गर्दा गरिने सनाखत दस्तुरमा पनि मोटरसाइकल तथा स्कुटरको ५०० रुपैयाँ नै ट्याक्स लाग्ने मन्त्रालयले जनाएको छ । एजेन्सीको साथमा ।