दोस्रोपटक पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज

सहयात्रा टिभी

काठमाडौँ । साउन ३, दोस्रोपटक विघटनपछि सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको आठौँ अधिवेशन आज शुरू हुँदैछ ।

करिब साढे तीन वर्ष सत्ता चलाएको एमाले सरकारबाट बहिर्गमनपछि पुनर्स्थापित प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ । सत्तामा कांग्रेस र माओवादी केन्द्र छन् ।

आजै राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदका दुबै सदनको अधिवेशन अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।

पुनर्स्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।

असार २९ मा नियुक्त प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन सके यही सरकारले बाँकी १७ महिनाको संसदको कार्यकाल पूरा गरेर चुनाव गराउनेछ भने विश्वासको मत प्राप्त गर्न नसकेको मुलुक अग्रिम चुनावमा जानेछ ।

यस्तो छ आजको सम्भावित कार्यसूची

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

यसअतिरिक्त सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित : 18 July, 2021

प्रतिक्रिया दिनुहोस्