अलैंची व्यवसायः एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङ । साउन ४, ताप्लेजुङमा उत्पादित अलैँची व्यवसायबाट एक वर्षमा किसानले करिब रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् ।
अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले बताएको छ ।
अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० हेक्टर क्षेत्रफल ओगटे पनि तीन हजार ४०० हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको अलैँची जोनका कृषि विकास अधिकृत शम्भुप्रसाद देवले बताए ।
फुङ्लिङ नगरपालिकाका–११ मध्ये सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् ।
आठराइ त्रिवेणी गाउँपालिकाका वडा नं ३, ४ र ५ गरी तीन वटा वडा र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी दुई वटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् ।