साबधान ! छोटो दूरीको यातायात भाडा बढेको छैन, जरिबानामा पर्नुहोला

काठमाडौं । साउन ५, सार्वजनिक यातायातमा अन्र्तगत छोटो दूरीका भाडा बढेको छैन ।
यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारी कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो।
साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए।
बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ। त्यस्तै बढी भाडा लिने सवारीलाई ५०० देखि एक हजार ५०० रुपैयाँसम्म जरिबाना भइरहेको छ।