अपरिचित नम्बरबाट फोन र इमेल, नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने खतरनाक चेतावनी

काठमाडौं । साउन ७, नेपाल राष्ट्र बैंकसहित नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको छ ।
ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ ।
प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट टेलिफोनमार्फत समेत धम्की आएको उनले बताए ।
ह्याकरको इमेल र टेलिफोन कलबारे सरोकारवालालाई जानकारी गराएर सचेत हुन आग्रह गरिएको र थप अनुसन्धान अघि बढाइएको उनले जनाए ।