बढ्यो कोरोना संक्रमण दर, तेस्रो लहर आउनसक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
काठमाडौं । साउन ८, निषेधाज्ञा खुले भएसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागेको छ।
निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले संक्रमणको दर बढेको पाइएको हो। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि संक्रमणदर पनि बढिरहेको बताए।
निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन्। यसबाट संक्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ।
त्यस्तै संक्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ। अहिले त्यो संख्या बढेर तीन हजार पुगेको छ। साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा संक्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन्।
नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो सातादेखि संक्रमणको दोस्रो लहर आएको थियो। दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो। संक्रमणको दोस्रो लहरले फोक्सोमा असर पुर्याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए। जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा संक्रमणको दर बढिरहेकाले नेपालमा जोखिम रहेको बताए। भारतको खुला सीमाका कारण भारतबाट संक्रमण फैलने डर रहेको छ।