गुरुजीमा आदरभाव

सहयात्रा टिभी

गुरुब्रम्हा गुरुविष्णु गुरुदेवो महेश्वरः ।
गुरुः साक्षात् परब्रम्ह तस्मै श्री गुरुवे नम: ।

गुरुपूर्णिमा आषाढ पूर्णिमा तिथिमा पर्छ । यो आध्यामिक र शैक्षिक ज्ञान दिने गुरुहरूप्रति आदरभाव प्रकट गर्ने दिन हो । यसलाई गुरुहरूको ऋण तिर्ने महत्वपूर्ण अवसरका रुपमा पनि लिइन्छ । जुनसुकै धर्म, सम्प्रदाय र समाजले गुरुपूर्णिमालाई चाडकै रुपमा मान्छन् । सबैले गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाउँछन् ।

गुरु शब्द ‘गु’ र ‘रु’ अक्षरबाट बनेको हुन्छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ हटाउने हो । त्यसैले आफ्ना विद्यार्थी, शिष्य, चेलालाई ज्ञानको ज्योति दिएर अज्ञानता हटाउने व्यक्ति गुरु हुन् । हाम्रो परम्पराअनुसार गुरु भनेका ज्ञानी, ध्यानी, त्यागी, शिक्षित, कर्मयोगी, जसले धनको आशा नगरी ज्ञान बाड्छन् भन्ने बुझिन्छ ।

भारत, नेपाल, भुटानमा गुरुपूर्णिमालाई चाडको रुपमा मनाइँदै आजसम्म आएको छ । यस दिन विद्यालय कलेजका विद्यार्थीले आफ्ना शिक्षकलाई मिठाइ खुवाउने र उपहार दिने गर्छन् । भारतमा शिक्षाविद्, विद्वान् र नेताहरुलाई ठूलो महत्व दिइन्छ । गुरुपूर्णिमामा उनीहरुलाई धन्यवाद दिने र बितिसकेका लागि पनि श्रद्धासुमन अर्पण गर्ने गरिन्छ ।

हिन्दु परम्परामा शिक्षक/गुरुलाई भगवान्भन्दा उच्च स्थान दिइएको छ । ब्रम्हा, विष्णु र शिवलाई पनि गुरु मानिन्छ । अझै गुरु त परब्रम्ह नै हुन् भनिन्छ । शास्त्रले महर्षि रोमहर्षणका ८८ हजार चेलाले ऋषिको स्मृति मनाएर गुरुपूर्णिमाको परम्परा सुरु गरेका हुन् भन्ने बताउँछ । अहिले पनि मन्दिर र मठमा चेलाहरूले शिक्षकहरुको सम्मानमा प्रार्थना गर्ने चलन छँदैछ ।

सनकादिहरू (सनक, सनन्द, सनातन र सनतकुमार) ले कृष्णमन्त्र ब्रम्हबाट पाएका थिए । ब्रम्हाका चेला सनकादिहरू भए । शिवजीका चेलाहरू परशुराम, उपमन्यू हुन् । श्रीमद् भागवतका अनुसार धु्रव र प्रल्हाद विष्णुका भक्त थिए । श्रीमद् भागवतका रचयिता महर्षि बेदव्यास हुन् ।

यस दिनमा महर्षि वेदव्यासको जन्म दिनको पनि स्मरण गरिन्छ । उनले महाभारतबाहेक चारवेद (ऋक्वेद, यजुर्वेद, सामवेद, अथर्वेद) को पनि रचना गरेका थिए । महर्षि सबैका गुरु हुन् तर वैशम्पायन्, जैमुनी, पैल र सुमन्तु र रोमहर्षण उनका चेलाहरु थिए ।

उनको योगदानको सम्मान र कदर गर्न भक्तजनले आज पनि पूर्णिमाका दिन व्यास पूजा गर्छन् । यसै दिन जन्मेका वेदव्यास सत्यवती र ऋषि परासरका छोरा हुन् । यस दिन व्यासद्वारा लिखित गीता र पुराणको पाठ गर्ने चलन छ ।

योगी परम्परामा यस दिनलाई अवसरको रुपमा लिइन्छ । शिवले सप्तऋषि (वशिष्ठ, कश्यप, अत्री, जमदग्नी, गौतम, विश्वामित्र र भरद्वाज) लाई योगको प्रारम्भ यसै दिन गराएका थिए । आदियोगी वा प्रथम योगीका पहिला चेलाहरू सप्तऋषिहरू बने ।

यो चाड बौद्धहरूले बुद्धको सम्झनामा मनाउँछन् । बुद्धले ध्यानबाट ज्ञान प्राप्त गरिसकेपछि यस दिन भारतको उत्तर प्रदेश सारनाथमा पहिलो प्रवचन दिएका थिए । त्यसैले उनीहरूले गुरुपूर्णिमाका दिनलाई विशेष मान्छन् । बौद्धहरु यस दिन गहन ध्यानमा रहने पनि गर्छन् । धैरै बौद्धहरूले माछा, मासु, मदिरा र धुमपान त्याग्ने र तपस्वी अभ्यास अपनाउने गर्छन् ।

जैन धर्ममा चाहिँ यस धर्मका प्रख्यात तिर्थकरले यस दिनमा पहिलो शिष्य गौतम स्वामीलाई पाएको स्मृतिका रुपमा मनाइन्छ ।

गुरु पूर्णिमामा आफूसँग भएका नकारात्मकता हटाउन प्रण गर्ने दिन हो । हामी पनि आफूसँग भएका दुर्गुण हटाउने दिन भन्ने मानौं । आफ्ना गुरुहरूलाई अहोभाव प्रकट गर्दै उहाँहरूबाट प्राप्त ज्ञानको ज्योतिले जीवनमा पारेको सकारात्मक प्रभावप्रति खुसी हुँदै गुरुपूर्णिमा मनाऔं ।

प्रकाशित : 24 July, 2021

प्रतिक्रिया दिनुहोस्