अमेरिकाबाट पिएचडी गरी नेपालमा स्ट्रबेरी उत्पादन

सहयात्रा टिभी

काठमाडौं । साउन १२, कृषि विज्ञ डा. राजेन्द्र गौतम विगत तीन वर्षदेखि स्ट्रबेरी उत्पादनको अनुसन्धानमा लागेका छन्।

उनी अमेरिकाको विश्वविद्यालयबाट कृषिमा विद्यावारिधि (पिएचडी) गरेर नेपालमा स्ट्रबेरीको राम्रो सम्भावना देख्छन्। उनले भक्तपुर, ललितपुर, विराटनगर र चितवनमा स्ट्रबेरी खेतीसँगै अनुसन्धान पनि गरिरहेका छन्।

स्ट्रबेरी अनुसन्धानमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ एग्रिकल्चर एन्ड एनिमल्स साइन्स (आइएएस) र एग्रिकल्चर एन्ड फरेस्ट्री युनिभर्सिटी (एफओ) रामपुर, चितवनले सघाएको छ।

यसरी अनुसन्धान गर्दा कुन ठाउँमा कुन जात उपयुक्त र कस्तो हावापानीमा कुन जातको स्वाद मिठो आउँछ भन्ने पत्ता लगाउन सकिन्छ।

त्यस्तै स्ट्रबेरीमा कस्ता रोग–कीरा लाग्छन् र यसका समाधानबारे अनुसन्धान केन्द्रित छ। बेसार, अदुवा तथा विभिन्न प्रकारका झारको रस प्रयोग गरेर रोग–कीरा नियन्त्रण गर्न सकिने उनीहरूले निष्कर्ष निकालेका छन्।

त्यसैगरी कृषि अनुसन्धानमा लाग्ने मोह राजेन्द्रलाई अमेरिका बस्दादेखि नै पलाएको हो। पढाइ र कामको सिलसिलामा उनी सात वर्ष अमेरिका बसे। त्यहाँ उनी विश्वविद्यालयमा कृषि अनुसन्धानको काम गर्थे। सोचअनुसार चार वर्षअघि उनी सपरिवार नेपाल आए। तुरून्तै, उच्च मूल्य पर्ने बालीको अध्ययन–अनुसन्धान गर्ने उद्देश्यले ‘समृद्धि कृषि अनुसन्धान तथा विकास प्रालि’ नामक कम्पनी दर्ता गरे।

 

प्रकाशित : 27 July, 2021

प्रतिक्रिया दिनुहोस्