आज साउन १५ गते (खीर खाने दिन)

काठमाडौं । साउन १५, आज श्रावण १५ अर्थात खिर खाने दिन । श्रावणको १५ लाई खिर खाने विशेष दिनको रूपमा लिइन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहेको छ ।
वर्ष दिनभरिमा कहिले जौ को सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।
साउन महिना वर्षात् समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खीर खाने गरिन्छ । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खीर खाने गरेको पाइन्छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
नेपालमा मात्रै होइन भारतमा पनि साउन महिनामा खीर खाएमा धेरै शुभ हुने मान्यता रहेको छ । साउन महिनाको सुरुवातमा मासुभन्दा पहिले दुधको परिकार खानुपर्छ भनेर नेपालीहरूले साउने संक्रान्तिमा खीर खाने गर्दछन् ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद्हरु बताउछन् । ऋषिमुनिका पालादेखि नै श्राद्धलगायत पितृकार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई खीर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्यरूपमा गाईको दूधमा खीर बनाउँछन् ।