अफगानिस्तानका रक्षामन्त्रीको निवासमा हमला, कम्तीमा चारको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । साउन २०, अफगानिस्तानका रक्षामन्त्रीको निवासमा सशस्त्र विद्रोहीहरूले आक्रमण गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ ।
आक्रमणका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरबाहिर भएकाले बच्न सफल भएका छन् ।
बन्दुकधारीहरूले मङ्गलबार काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्रीको निवासमा कार बम हमला गरेका थिए । साथसाथै उनीहरूले गोली पनि चलाएका थिए ।
रक्षामन्त्रीको परिवारका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको छ । उक्त हमलामा संलग्न आक्रमणकारीहरू पनि सुरक्षाकर्मीद्वारा मारिएका छन् ।
मुख्य अफगान शहरहरूमा तालिबान विद्रोही र सरकारी फौजबीच लडाइँ जारी रहेको तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले तत्कालै हिंसा अन्त्य गर्न आह्वान गरेका बेला उक्त आक्रमण भएको हो । सुरक्षा अधिकारीहरूले एएफपी समाचार संस्थालाई घटनामा चारजना मारिएको बताएका छन् ।
इटलियन आकस्मिक चिकित्सा परोपकारी संस्थाले चाहिँ काबुलस्थित आफ्नो स्वास्थ्य सेवा निकायमा उक्त घटनामा मारिएका चारजनाको शवका साथ ११ जना घाइते पनि ल्याइएको बताएको छ ।
आक्रमणमा सहभागी चार बन्दुकधारी पनि मारिएको छ ।
आक्रमणको घण्टौँपछि काबुल निवासीहरू सडकमा निस्किएर र घरका छतहरूमा उभिएर तालिबानको आक्रमणलाई हाँक दिइरहेको सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा देखिएको छ ।
अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तका शहरमा अफगान फौज र तालिबानबीच भीषण लडाइँ जारी छ ।
बीबीसीबाट