बुद्ध एयरको भरतपुर–भैरहवा उडान सुरु

चितवन । साउन २१, बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ ।
कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिए ।
भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध एयरले भरतपुर–काठमाडौं नौ उडान गरिरहेको छ ।
त्यस्तै शुरुआतमा भैरहवा १८ सिट जहाजबाट उडान शुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताए । सन् २००५ बाट चितवनमा उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौं दैनिक १२ उडान भर्दै आएको थियो ।