हात्तीलाई फाँसीमा चढाउनुको रहस्य यस्तो छ !

सहयात्रा टिभी

काठमाडौं । साउन २६, आजभन्दा १०४ वर्ष पहिले अमेरिकामा धेरै मानिसहरुले समर्थन सहित एउटा हात्तीलाई सजाय स्वरुप फाँसी दिइएको थियो ।

यो घटना सन् १९१६ को सेप्टेम्बर १३ मा भएको हो । अमेरिकाको टेनेसी राज्यमा चार्ली स्पाक नामका एक व्यक्तिले टेनेसीमा स्पार्क्स वर्ल्ड फेमस शो नामको एक सर्कस चलाउँथे । उक्त सर्कसमा विभिन्न जनावरहरु थिए र त्यसमध्ये मेरी नामको एक एसियाली हात्ती पनि थियो ।

उक्त सर्कसमा मेरीको माउतेले एकदिन जागिर छाड्यो । पूरानो माउतेले जागिर छाडेपछि उसको ठाउँमा नयाँ माउते राखियो ।

नयाँ माउतेलाई मेरी हात्तीको बारेमा खासै जानकारी थिएन, न त हात्तीलाई माउतेको बारेमै थाहा थियो । त्यसैले हात्ती नियन्त्रण गर्नका लागि माउतेलाई निकै सकस पर्‍यो ।

मेरी हात्तीसमेतका धेरै जनावर र सर्कसका सबै कलाकार एक दिन सर्कसको प्रमोशनका लागि शहरमा परेडमा सहभागी भए । त्यही क्रममा बाटोमा हात्तीले केही खानेकुरा देख्यो र त्यही खानेकुरा खानका लागि दौडिएर अगाडि बढ्न थाल्यो ।

माउतेले हात्तीलाई रोक्न निकै कोसिस गर्‍यो तर हात्ती नरोकिए पछि माउतेले हात्तीको कानका पछाडि भाला रोप्यो । भाला रोपिएपछि हात्ती तिलमिलायो र रिसाउँदै माउतेलाई आफ्नो पिठ्यूँबाट तल झारेर कुल्चिएर मारिदियो ।

अर्को दिनको पत्रिकामा उक्त घटना बारेको समाचार प्रमुखताका साथ छापियो जसका कारण शहरमा सनसनी फैलियो । शहरवासीहरुले सर्कसका मालिक चार्ली स्पार्कसँग मेरी हात्तीलाई मृत्युदण्ड दिन माग गरे । यदि हात्तीलाई नमारेमा शहरमा फेरि कहिल्यै पनि सर्कस हुन नदिने धम्की दिन थाले ।

शहरवासीहरुको मागका अगाडि चार्ली स्पार्कको जोर चलेन र उनी घुँडा टेक्न बाध्य भए । अन्ततः उनले हात्तीलाई मृत्युदण्ड दिने निर्णय गरे ।

१०० टन भार उठाउने एक क्रेन खोजियो र १३ सेप्टेम्बर १९१६ मा सोही क्रेनको सहयोगले हजारौँ मानिसहरुको उपस्थितिमा शहरको बीचमा उक्त हात्तीलाई फाँसीमा झुण्डाइयो । उक्त घटना जनावरहरु प्रतिको मानवीय क्रूरताको सबैभन्दा दर्दनाक घटनाको रुपमा इतिहासमा दर्ज भएको छ ।

एजेन्सीहरुको सहयोगमा ।

प्रकाशित : 10 August, 2021

प्रतिक्रिया दिनुहोस्