११ दिनदेखि अस्पतालमा पिसिआर परीक्षण बन्द

राजविराज । साउन २८, विगत एघार दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालित पिसिआर परीक्षण बन्द रहेको पाइएको छ ।
अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले परीक्षणका लागि पिसिआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको बताए ।
उनले भने, “प्रदेश नं २ को अरु जिल्लामा प्रदेश सरकारले पिसिआर मेसिन दुई थान दिएको छ तर सप्तरी जिल्लाका लागि एउटा मात्रै पिसिआर मेसिन उपलब्ध गराएकाले त्यो पनि बिग्रेपछि स्वाब सङ्कलन कार्यसमेत प्रभावित भएको छ ।”
यसअघि यही साउन १२ गते पनि पिसिआर मेसिनमा गडबडी हुँदा दुई दिन परीक्षण कार्य बन्द भएको थियो ।