कुवेतमा चर्को घाममा काम गर्ने १३ विदेशी कामदार पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । साउन २९, कुवेतमा चर्को घाममा काम गर्ने १३ विदेशी श्रमिक पक्राउ परेका छन् ।

तस्वीर : कुवेत न्युज एजेन्सी

कुवेतस्थित पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम) को फरवानीया गभर्नरोरेटका पेशागत सुरक्षा विभागका प्रमुख अहमद दश्तीका अनुसार निरीक्षणको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पीएएमको टोलीले तीन वटा क्षेत्रमा निरीक्षण गर्दा नियम उल्लंघन गर्ने कम्पनीहरूलाई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको जनाएको छ ।

जसमा विभागले निरीक्षण गर्दा १३ जना कामदारले कानून उल्लंघन गरेको विभागका प्रमुख अहमद दश्तीलाई उदृत गर्दै अरब टाइम्सले जनाएको छ । यसअघि पनि विभिन्न साइटहरूको निरीक्षण गर्दा २८१ कम्पनीलाई कारबाही र नियम उल्लंघन गर्ने ४३९ कामदारलाई पक्राउ गरिएको थियो ।

रोजगारदाताहरुलाई कामदारहरुको सुरक्षाको ग्यारेन्टी गर्ने र कानुनी उत्तरदायित्वबाट टाढा नरहने निर्णयको पालना गर्न पीएएमले पटक पटक आग्रह गर्दै आएको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

कुवेतमा विभिन्न क्षेत्रमा गरी करिब ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतमा पनि धेरै नेपाली निर्माण क्षेत्रमा कार्यरत रहेका छन् ।

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्