चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज बन्ने

सिन्धुपाल्चोक । साउन ३०, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेस्थित रातोपुल बाढीले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ ।

सिंहदरबारमा गत मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरेर बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिएअनुसार हिजो हेलम्बु पुगेको प्राविधिकसहितको टोली उक्त स्थानमा बेलिब्रिज हाल्ने निष्कर्षमा पुगेको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का सदस्यसचिव अनिल पोख्रेलको नेतृत्वमा हेलम्बु पुगेको सडक विभाग, नेपाली सेना सम्मिलित प्राविधिक टोलीले स्थानीय सरकारसँगको समन्वयमा गत असार १ र साउन १६ गतेको बाढीले बगाएका पुलमध्ये अत्यावश्यक ठानिएको चनौटेस्थित रातोपुल बगाएको स्थानमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने जानकारी दिएको हो । “प्राविधिक टोलीको सर्वेक्षणअनुसार चनौटेको रातोपुल ४१ मिटर रहेकोमा पहिलेको भन्दा चार–पाँच मिटर अग्लो बनाएर ५० मिटरको बेलिब्रिज बनाउने तयारी गरेका छौँ”, पोख्रेलले भने, “उक्त स्थानमा सामान लिएर जाने बाटो बन्ने बित्तिकै पुल निर्माणको काम शुरु गर्छौं ।”
उनका अनुसार हेलम्बुकै चुरेटार र थापाटार जोड्ने यान्त्रिक पुलको सर्वे भइसकेको र सँगै निर्माणकार्य थालिने छ ।
यस्तै, आजदेखि दुवाचौरबाट सेल्ले मेलम्ची बगैँचासम्म सिन्धु हेलम्बु यातायातको बस सेवा सञ्चालन भएको छ । बिहान साढे ८ बजे छुटेको बस दिउँसो २ बजे मेलम्ची बगैँचाबाट फर्कने मेलम्ची–७ का वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । केही दिनमा सेल्लेमा बाटो मर्मतपछि बाँसखर्क जतन तथा बिचारीचौरमा मर्मतपछि पाल्चोक किउलसम्म बस सञ्चालन गरिने छ ।