अफगानिस्तानमा विजय प्राप्त गरेको तालिवानको दाबी, कहाँ गए राष्ट्रपति घानी ?
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । साउन ३२, अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिवानले विजयी भएको दाबी गरेको छ ।
तालिवानको यो विजयसँगै त्यहाँको सरकार गिरेको छ भने राष्ट्रपति अशरफ घनी देश छाडेर भाग्नु भएको छ । तालिवानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भनेका छन् : “अफगानिस्तानमा युद्ध सकिएको छ।”
“हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता,” उनले भने ।
उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहोर्याउने आफूहरूले ठानेको बताए ।
राष्ट्रपति घानी कहाँ छन् ?
राष्ट्रपति अशरफ घानी उज्बेकिस्तानतर्फ गएपछि उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताएका छन् ।
आइतबार अबेर तालिवानी लडाकुहरू राष्ट्रपति भवनभित्र रहेका तस्बिर सार्वजनिक भएका थिए ।
तिनले राजधानी काबुलको ११ जिल्ला केन्द्र कब्जा गरेको दाबी गरेका छन् ।
काबुलमा अराजकता छाएको छ र त्यहाँका निवासी एवम् विदेशी नागरिकहरू काबुलबाट बाहिर निस्कन खोजिरहेका छन्।
अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिवान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन्।
विमानस्थल अस्तव्यस्त
काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूले आफ्नो कार्यस्थल छाडेका छन् भने मानिसहरू जहाजतर्फ दौडिरहेका दृष्य देखिएका छन् ।
अमेरिकाले काबुलको रक्षाका लागि तैनाथ गरेको ६ हजार फौजलाई अब विमानस्थल परिसरको सुरक्षामा खटाइने बताइएको छ ।
अमेरिकी विदेश तथा रक्षा मन्त्रालयले विमानस्थलको रक्षाका निम्ति विभिन्न कदमहरू चालिरहेको र अमेरिकी तथा गठबन्धन सदस्यहरूलाई गैरसैनिक एवं सैनिक विमानमार्फत् उद्धार गरिने बताएको छ ।
अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ। तालिवानको नियन्त्रणमा नआएको सबैभन्दा ठूलो सहर काबुल रहेको थियो। तालिवानले महिनौँदेखि अफगानिस्तानका विभिन्न क्षेत्रमा नियन्त्रण सुरु गरेको थियो।
बीबीसीको सहयोगमा