भाइरल ज्वरोका बिरामी बढ्न थाले

सहयात्रा टिभी

मार्तडी । भदौ २, बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।

भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा. प्रकाशराज जोशीले बताए । उनले भने, “बालबालिकामा देखिएको सङ्क्रमण दर वढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ ।”

अस्पतालमा दैनिक १५ देखि २० बिरामी उपचारमा आउने सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए । उनका अनुसार अस्पतालमा १० भन्दा बढी बिरामी भर्ना भइ उपचाररत छन् । खप्तड छेडेदह गाउँपालिका पनि भाइरल ज्वरोका बिरामी बढेको आटीचौर स्वास्थ्यचौकीका इन्चार्ज रमेशबहादुर ओलीले जानकारी दिए । यसैगरी पूर्वी उत्तरी भेगको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको सङ्ख्या बढेका छन् ।

त्यस्तै एक सय देखि १०५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका बिरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पतालका स्टाफ नर्स निशा रोकायाले बताएका छन् । उनीहरुलाई अक्सिजनका सहयोगमा उपचार गर्ने गरेको उनले जानकारी दिए ।

ज्वरोका बिरामी सरकारी स्वास्थ्य संस्थामा मात्र नभई निजी मेडिकलमा पनि उल्लेख्यनीय मात्रामा उपचारमा आउने गरेका छन् । मार्तडी सञ्चालन भइरहेका निजी क्षेत्रको खप्तड फार्मेसीका अमरराज जोशीले मेडिकलमा दैनिक ४० देखि ५० जना उपचार गर्ने गरेको बताए ।

सङ्क्रमण दुई महिनादेखि पाँच वर्षमुनि उमेर समूहका बालबालिकामा बढी देखिए पनि १० वर्षसम्मका बालबालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालले चार वर्षयताकै जटिल सङ्क्रमण देखिएको पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा जानकारी गराइसकेको छ ।

जिल्लामा गत साउन दोस्रो सातादेखि सङ्क्रमण फैलिएको हो । कोरोना जाँचमा नेगेटिभ देखिए पनि लक्षण सबै कोरोनासँगै मिल्ने गरेकाले थप जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ । अस्पतालले समयमै बालबालिकालाई स्वास्थ्य संस्थामा ल्याउन र उपचारमा ध्यान दिन सार्वजनिक अपिलसमेत गरेको छ ।

सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने, खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

सङ्क्रमणलाई नै मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले यही भदौ १ गतेबाट निषेधाज्ञालाई थप कडाइ गरेको छ । बजार क्षेत्रमा मास्कबिना हिँडडुल गर्न र बिना काममा भीडभाड गर्ने कार्य रोक्न प्रशासनले सुरक्षाकर्मी परिचालन गरेको छ । -रासस

 

 

प्रकाशित : 18 August, 2021

प्रतिक्रिया दिनुहोस्