अफगानिस्तानबाट चार सय ७० नेपाली स्वदेश फर्किए

सहयात्रा टिभी

काठमाडौँ । भदौँ ५, अफगानिस्तानबाट शुक्रबार साँझसम्म चार सय ७० नेपाली स्वदेश फर्किएका छन् ।

नेपाल आइपुगेका नेपाली नागरिकहरुलाई नेपाली सेनाले सहयोग गर्दै । तस्वीर : रासस

काबुलबाट उद्धार भएर शुक्रबार मात्रै दुईवटा उडानमार्फत एक सय ७४ जना स्वदेश फर्केका हुन् । काबुल छाडिसकेका करिब हजारजना नेपालीमध्ये पाँच सय ३० जना स्वदेश फर्कने क्रममा विभिन्न मुलुकमा पारगमन (ट्रान्जिट) र क्वारेन्टिनमा छन् ।

‘थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी छ,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उद्धार भई स्वदेश आउनेमा विभिन्न कूटनीतिक नियोग तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरू हुनुहुन्छ।’

आगमनपछि अध्यागमनलगायत आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूलाई स्वास्थ्य मापदण्डअनुसार कोभिड– १९ को परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको परराष्ट्रले जनाएको छ।

तीन सय दशजना नेपालीले अफगानिस्तानबाट उद्धारका लाग कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो विवरण दर्ता गरेका छन्। ‘यो संख्या शुक्रबार साँझसम्म दर्ता भएकाहरूको हो। तर, नाम दर्ता गरेका सबै काबुलमा हुनुहुन्न, कतिपय फर्किंदै हुनुहुन्छ, कतिपय फर्किसक्नुभएको छ,’ परराष्ट्रका अधिकारीले भने ।

प्रकाशित : 21 August, 2021

प्रतिक्रिया दिनुहोस्