मादक पदार्थ सेवन गरी हात्तीमा चढ्न नपाइने

सहयात्रा टिभी

काठमाडौं । भदौ ६, श्रीलंकाले मापसे गरेर हात्ती सवार गर्न नपाइने नियम बनाएको छ ।

श्रीलंकाले घरपालुवा हात्तीहरुको बायोमेट्रिक परिचय पत्र जारी गर्न लागेको छ । नयाँ जनावर संरक्षण कानून अनुसार अब माउतेले हात्ती सवार गर्दा मदिरा सेवन गर्न पाउनेछैन ।

त्यस्तै श्रीलंकामा धेरै धनाढ्यहरु, खासगरी बौद्ध भिक्षुहरुले आफ्नो सम्वृद्धि प्रदर्शन गर्नका लागि समेत हात्ती पालेका हुन्छन् । तथापि घरपालुवा हात्तीहरुमाथि भएको क्रूरता तथा दुर्व्यवहारका घटनाहरु निकै व्यापक रुपमा सार्वजनिक हुने गरेका छन् ।

नयाँ कानूनले जनावरको हितको संरक्षण गर्नुका साथै कामकाजी हात्तीका सम्बन्धमा कडा नियम अख्तियार गरेको छ । अबदेखि हात्तीलाई दैनिक साढे २ घण्टा अनिवार्य रुपमा पानीमा नुहाउन तथा खेल्नका लागि लैजानुपर्नेछ ।

त्यस्तै बच्चा हात्तीलाई आफ्नो आमाबाट छुट्टाउन नपाइने र धार्मिक लगायतका कुनैपनि काममा लगाउन नपाइने नयाँ नियममा उल्लेख गरीएको छ । त्यस्तै भारी बोक्ने काममा खटाइने हात्तीलाई दिनको ४ घण्टाभन्दा बढी काममा लगाउन नपाइने र रातको समयमा काम गराउनमा पनि बन्देज लगाइएको छ ।

त्यस्तै एउटा हात्तीमा ४ जनाभन्दा बढी चढ्न पाइनेछैन । त्यस्तै हात्तीको नांगो ढाडमा बस्न पाइने छैन र बस्नका लागि व्यवस्थित सिट हुनुपर्नेछ भने हात्तीलाई फिल्ममा खेलाउन पनि बन्देज लगाइएको छ । श्रीलंकामा जंगली हात्ती समात्ने तथा मार्ने काम ठूलो अपराधको रुपमा मानिन्छ र अपराधमा मृत्युदण्ड दिइने प्रावधान रहेको छ । एजेन्सीको सहयोगमा

 

 

प्रकाशित : 22 August, 2021

प्रतिक्रिया दिनुहोस्