देशका अधिकांश भागमा झरी, सातै प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । भदौ ११, काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा झरी परिरहेको छ । मनसुनी वायुको प्रभावका कारण सामान्यदेखि पूर्ण बदली रही वर्षा भइरहेको जल तथा मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा हाल मनसुनको न्यूनचापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले प्रदेश १, वाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारी/अधिक भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी आइतबारसम्म देशका अधिकांश स्थानमा भारी तथा अधिक भारी वर्षाको सम्भावना छ ।

बंगालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरबियन सागरको समेत जलवाष्प मिसिएकाले नेपालमा मनसुन फेरि सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

यसपटक भदौरे झरीले नेपालको तराई क्षेत्र डुबानमा पर्ने खतरा बढेको छ । मनसुन सक्रिय रहने क्रममा यसपटक तराई केन्द्रीत भएकाले डुबान र कटान बढाउने खतरा बढेको मौसमविद्को भनाइ छ ।

प्रकाशित : 27 August, 2021

प्रतिक्रिया दिनुहोस्