राष्ट्रपति बाइडेनद्वारा अफगानिस्तानबाट सेना फिर्तीको बचाउ

सहयात्रा टिभी

काठमाडौँ । भदौ १६, अमेरिकाका राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् । अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थितिको अन्त्य भएको एक दिनपछि बाइडेनले राष्ट्रको नाममा सम्बोधन गर्दै अझै त्यहाँ बसिरहनुको अर्थ नभएको स्पष्ट पारे ।

इस्लामिक विद्रोही समूह तालिबानले अमेरिकी सेनाको बहिर्गमनलाई जितका रुपमा अर्थ्याउँदै उत्सव मनाइरहँदा बाइडेनले भने आफ्नो निर्णयको बचाउ गरेका हुन् ।

राष्ट्रपति बाइडेनले आफ्ना सेनाको प्रशंसा गर्दै अफगानिस्तानमा बाँकी रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ताको प्रक्रिया जारी राख्ने प्रतिबद्धता पनि जनाए ।

बाइडेनले अफगान युद्ध अब समाप्त भएको उल्लेख गर्दै अमेरिकालाई आफ्नो रक्षाको लागि जमिनमा सेनाको आवश्यकता नभएको पनि जिकीर गरे ।

अचानक अमेरिकी सेना फिर्ता गर्ने निर्णलाई लिएर देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट बाइडेनले आलोचना खेप्नु परेको छ । तालिबानले अफगानिस्तानमाथि नियन्त्रण कायम गरेपछि अमेरिकी सेना र गठबन्धनमा आबद्ध देशका सेनाले एक लाख २० हजार भन्दा बढी मानिसको हवाई उद्धार गरेको छ ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्यू योर्कस्थित ट्वीन्स् टावरमा यात्रुबहाक जहाज अपहरण गरी भएको आतकंवादी आक्रमणपछि अमेरिकाले अलकायदा र तालिबानविरुद्ध अफगान मिसन चलाएको थियो ।

प्रकाशित : 1 September, 2021

प्रतिक्रिया दिनुहोस्