कांग्रेसको महाधिवेशन प्रक्रिया आज शुरु हुँदै, ५६ जिल्लामा वडा अधिवेशन
काठमाडौँ । भदौ १८, नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रक्रिया आज वडा अधिवेशनबाट शुरु हुँदैछ । क्रियाशील सदस्यताको नामावली पुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन शुरु गरिने भएको हो । वडा अधिवेशन एकै दिन गर्ने कार्यतालिका बनाइए पनि काठमाडौँसहित दुई दर्जनभन्दा बढी जिल्लामा आज अधिवेशन नहुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशनका लागि ५६ जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् । जिल्लामा पुगे पनि सबै वडामा प्रतिनिधि पुग्न नसकेकाले आज करिब ४६ जिल्लामा मात्रै वडा अधिवेशन हुन सक्ने अनुमान समितिको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लमा पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरिएकाले अब महाधिवेशन प्रक्रिया शुरु गरिएको बताए । उनले कांग्रेसका विधानमा तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिएको बताए ।
कुनै कारण आज निर्वाचनको प्रक्रिया शुरु हुन नसकेका जिल्लामा भदौ २६ गतेभित्र वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्देशन पार्टीले दिएको छ । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहबाटै सक्रिय बनेका छन् ।
२१ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन । शीर्ष तहमा भएको समझदारीका आधारमा रमेश लेखक नेतृत्वको सदस्यता छानबिन समितिले शनिबारसम्ममा सदस्यता सूची निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म १४ औँ महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ ।