पर्वतमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु, तीन बेपत्ता

सहयात्रा टिभी

पर्वत । भदौ १८, पर्वत जिल्लाको विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ ।

घरका तीन जना बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृत्यु भएको छ ।

जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 3 September, 2021

प्रतिक्रिया दिनुहोस्