मेलालाई कोरोनाले रोक्न सकेन

काठमाडौं । भदौ २२, कोरोनाको जोखिमा पनि मेला लागि रहेको छ । नयाँ भेरियन्ट सहितको कोरोना जोखिम कायम रहेको भन्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालय र गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले एक साताअघि नै सूचना जारी गरेर मेला स्थगित गरिएको घोषणा गरे ।

त्यस्तै गरीविभिन्न सञ्चारमाध्यमबाट यो सूचनाको प्रचारप्रसार पनि भयो । जताततै कोरोनाको जोखिम फैलन सक्ने त्रासले सोमबार रातिदेखि नै गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा प्रहरी परिचालन गरिएको थियो । मन्दिरसँगै रहेको महानगरीय प्रहरी प्रभाग गोकर्ण मेलामा भक्तजन भेला हुन नदिन बिहान चार बजे नै नाका नाकामा पुग्यो।
परम्परा अनुसार देशका विभिन्न भागबाट हजारौँ मानिस मन्दिर क्षेत्रमा प्रवेश गरे । टाढा टाढाबाट आएका भक्तजनको अवस्थालाई ध्यान दिँदै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मेला सञ्चालन गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।
स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला सञ्चालन गरिएको भने पनि विभिन्न जिल्लाबाट बस, ट्रक, मिनीबस, माइक्रोब सलगायत साधन रिजर्भ गरेर आएका भक्तजनले मास्कसमेत लगाएका छैनन् ।
गोकर्णेश्वर महादेव मन्दिरमाथिको वाग्मती किनारमै श्रद्धा भक्तिपूर्वक तर्पण, पिण्डदान गर्ने भक्तजनको पनि लाम छ । वाग्मती किनारको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ नयाँ गाउँका कृष्णमुरारी श्रेष्ठ पिताको निधन भएदेखि भाद्रकृष्ण औँसीका दिन प्रत्येक वर्ष नदी किनारमा श्राद्ध गर्छन् ।
यसरी कुल परम्परा अनुसार पितृप्रति श्रद्धा भक्ति प्रकट गर्नेको लाम सुन्दरीजल सम्म नै लागेको छ । तिथिका दिन विधिपूर्वक घरमै पितृप्रति श्रद्धा भक्ति प्रकट गर्ने गरेको श्रेष्ठ बताउँछन् । आजको दिन गोकर्णेश्वर क्षेत्रमा गरिने दिवंगत पितृप्रतिको श्रद्धा जीवनकालमा एकपटक वैदिक सनातन धर्मावलम्बीले अनिवार्य रुपमा गर्छन् । देशभरका वैदिक सनातन धर्मावलम्बी जीवनकालमा एकपटक भाद्रकृष्ण औँसीका दिन श्राद्ध गर्न आउँछन् ।