संघीय संसदको अधिवेशन आज शुरु हुँदै
काठमाडौँ । भदौ २३, संघीय संसदको दुवै सदनको अधिवेशन आज शुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ । मन्त्रिपरिषदको भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी थिइन् ।
प्रतिनिधिसभाको आज शुरु हुने नवौँ अधिवेशनमा सरकारले यस अघि दर्ता भएका १३ अध्यादेश स्वीकृतिका लागि पेस गर्ने संघीय संसद सचिवालयले जनाएको छ । साथै थप केही अध्यादेश आजको बैठकमा टेबल गर्ने तयारी सचिवालयको छ । संसद सचिवालयले अधिवेशनको पहिलो दिन नै बजेटसहित १३ वटा अध्यादेश स्वीकृत गर्ने प्रस्तावलाई सम्भावित कार्यसूचीमा राखेको छ ।
संसदको आठौँ अधिवेशन शुरु भएको पहिलो दिन साउन ३ मा यी अध्यादेश सदनमा दर्ता पेश गरिएका थिए । भदौ ३० सम्म निर्णय नगरिए यी अध्यादेश स्वतः खारेज हुने भएपछि अघि बढाउन सरकारले अधिवेशन बोलाएको हो ।
संसद सचिवालयले हिजो सार्वजनिक गरेको कार्यसूची अनुसार अधिवेशनको पहिलो दिनमै यसअघि रोकिएका अध्यादेश स्वीकार गराउने र दल विभाजन गर्न सहज हुने राजनीतिक दलसम्बन्धी अध्यादेशलाई टेबल गर्ने सरकारको योजना छ । यसैगरी, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश पनि स्वीकृतिका लागि प्रस्तुत गरिने छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गर्दा प्रतिपक्ष एमालेको अवरोध हुन सक्ने सचिवालयको आकलन छ । बैठकको कार्यसूचीअनुसार आजको बैठक अघि बढे १३ वटा अध्यादेश स्वीकार वा अस्वीकार हुनेछ ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थाना भएसँगै गत साउन ३ गतेदेखि अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो । विचाराधीन विधेयकलगायतका बिजनेस नै अगाडि बढाउन सक्ने अवस्था नरहेपछि अधिवेशन चाँडै अन्त्य गरिएको थियो ।