एमसीसी उपाध्यक्ष सुमार र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौँ । भदौ २५, अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ ।

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएको टोलीले काठमाडौँ ओर्लिएलगत्तै राजनीतिक भेटघाटलाई तीव्रता दिएको थियो ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राजनीतिक भेटवार्ता थालेकी सुमारले सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज बिहान खुमलटारस्थित निवास पुगेर भेट गरेकी हुन् । दाहाल र सुमारबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ ।

उपाध्यक्ष फतिमाले हिजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् ।

उपाध्यक्ष सुमारले एमसीसी सम्झौतालाई अघि बढाउने वा फिर्ता पठाउने विषयमा तत्काल ठोस निर्णय गर्न दलका नेताहरुसँगको भेटमा आग्रह गरेकी छन् ।

एमाले अध्यक्ष ओली, एकीकृत समाजवादी अध्यक्ष नेपाललगायतका नेताहरुसँगको छुट्टाछुट्टै भेटमा एमसीसी विवादलाई अरु नलम्ब्याउन आग्रह गरेकी बताइएको छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित : 10 September, 2021

प्रतिक्रिया दिनुहोस्