रोहित र सन्दीप चम्किँदा पपुवा न्युगिनीविरुद्ध नेपालको जित

सहयात्रा टिभी

काठमाडौँ । भदौ २६, युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो एकदिवसीय मैत्रीपूर्ण क्रिकेटमा पपुवा न्युगिनीलाई पराजित गरेको छ ।

ओमानको मस्कटमा २ सय ३४ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी ८२ रनमा अल आउट भएको थियो । २३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियाे ।

पपुवा न्युगिनीको लागि टोनी उराले १९ रन बनाए । यस्तै कार्लेस अमिनीले १६ रन बनाउँदा नोर्मन मानुआ १२ तथा सेसे बाउले ११ रन बनाए भने गाउदी टोकाले १० रन मात्रै बनाउन सके ।

नेपालका लेग स्पिनर सन्दीपले ६ विकेट लिए । ५ ओभर १ बल बलिङ गरेका सन्दीपले जम्मा ११ रन खर्चेर ६ विकेट लिएका हुन् । सोमपाल कामी, बिक्रम सोब र सुशन भारीले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३३ रन बनाएको हो ।

नेपालका युवा ब्याटस्म्यान रोहितले सर्वाधिक ८६ रन बनाए । १२३ बल खेलेका रोहितले ३ छक्का र २ चौको मद्धतमा ८६ रन बनाएका हुन् । कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । ७० बल खेलेका मल्लले २ छक्का र ३ चौका प्रहार गरेका थिए ।

करण केसीले ४२ रन बनाए । जम्मा २५ बल खेलेका करणले ४ छक्का र २ चौका प्रहार गरेका थिए । विकेट किपर बिनोद भण्डारीले १७ रन बनाए । ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेष ३/३ रन बनाएर आउट भएका थिए ।

पपुवा न्युगिनीका चाद सोपरले सर्वाधिक ३ विकेट लिए । ९ ओभर बलिङ गरेका चादले ४५ रन खर्चेर ३ विकेट लिएका हुन् । नोर्मन भानुआ र काबुआ मोरेआले समाना २/२ विकेट लिए । यस्तै कार्लेस अमिनीले १ विकेट लिए ।

यसअघि पहिलो एक दिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । नेपालका लागि सन्दीपले सर्वाधिक ४ विकेट लिएका थिए । रोहितले सर्वाधिक ४१ रन बनाएका थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलेको हो ।

लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग भदौ २८ गते प्रतिस्पर्धा गर्नेछ ।

नेपालले दोस्रो खेलमा ओमानसँग भदौ २९ गते प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग असोज १ गते प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग असोज ३ गते खेल्नेछ ।

प्रकाशित : 11 September, 2021

प्रतिक्रिया दिनुहोस्