सेप्टेम्बर ११ : विश्व नै स्तब्ध भएको त्यो दिन

सहयात्रा टिभी

काठमाडौँ । भदौ २६, आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार वटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो ।

अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार विमानलाई अपहरण गरी न्यूयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए । दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवन (ट्वीन टावर) मा बिस्फोट गराइएको थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा बिस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो । बिस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो । एक सय दश तले दुवै भवन ढलेर खरानी भएका थिए ।

नौ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा बिस्फोट भएको थियो । अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुँदा विमान आकाशमै बिस्फोट भएको थियो ।

ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो ।

साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए भने दुई जना, युएई एक जना इजिप्सेली र अर्का लेबनानका थिए ।

हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण शुरु गरेको थियो । लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुस प्रशासननले अफगानिस्तानमा आक्रमण शुरु गरेको थियो । आतंकवादीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो ।

अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारिदिएको थियो ।

अतिवादीबिरुद्धको दुई दशक लामो युद्धमा अमेरिका रित्तो हात लिएर यही ३१ अगस्टमा स्वदेश फर्किएको छ । अमेरिकी सेना स्वदेश फर्किन नपाउँदै तालिवानले अफगानिस्तान कब्जा गरेको थियो । अहिले तालिवानले अन्तरिम सरकार घोषणा गरिसकेको छ ।

२० वर्ष लामो लडाइँमा तालिवानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन सकेन । युद्वमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ । त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ ।

प्रकाशित : 11 September, 2021

प्रतिक्रिया दिनुहोस्