सेप्टेम्बर ११ : अमेरिकी जनतालाई एकजुट हुन बाइडेन आग्रह
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । भदौ २६, अमेरिकाका राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अमेरिकी जनतालाई एकजुट हुन आग्रह गर्नु भएको छ ।
सन् २००१ को सेप्टेम्बर ११ मा आत्मघाती आक्रमणकारीहरुले अमेरिकी यात्रुवाहक विमानहरुलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका १ सय १० तले दुई गगनचुम्बी भवन (ट्वीन टावर) मा जोतिदिँदा हजारौँको मृत्यु भएको थियो ।
यस्तै, तेस्रो विमानले राजधानी वाशिङ्टन डीसीभन्दा केही बाहिर रहेको अमेरिकी सेनाको मुख्यालय पेन्टगनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो ।
यसैगरी, यात्रुहरूले प्रतिरोध गरेपछि चौथो विमान पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो । अपहरणकारीहरूले सो विमानको प्रयोग गरी अमेरिकी संसद् भवनमा आक्रमण गर्ने लक्ष्य राखेको ठानिएको छ ।
यी घटनाहरुमा १९ अपहरणकारीबाहेक २ हजार ९ सय ७७ जनाको मृत्यु भएको थियो । सो आक्रमण भएको आज २० वर्ष पुगेको छ ।
विश्वलाई नै स्तब्ध पार्ने सो आक्रमणको स्मरणमा आज अमेरिकाको विभिन्न स्थानमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएका छन् ।