इजरायलको भाषा परीक्षा आजदेखि शुरु

सहयात्रा टिभी

काठमाडौँ । भदौ २८, रोजगारीका लागि इजरायल जान आवेदन दिएर प्रमाणित भएका ७ हजारभन्दा बढी युवाको भाषा परीक्षा आज शुरु हुदैँछ ।

वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनमध्येबाट ७ हजार ९ जनालाई प्रमणित गरी भाषा परीक्षा लिन लागेको हो । वैदेशिक रोजगार विभागका निर्देशक कमलप्रसाद ज्ञवालीले परीक्षालाई गोप्य तथा सुरक्षित बनाउन प्रश्नपत्र नेपाली सेनाको सुरक्षामा राखिएको बताए ।

उनका अनुसार ११ स्थानका १६ परीक्षा केन्द्रमा आज दिउँसो १ बजे हुने भाषा परीक्षामा ३ हजार ७२७ पुरुष र ३ हजार २८२ महिला सहभागी हुने छन् । परीक्षार्थीले भाषा परीक्षा शुरु हुनु ३ घन्टाअघि तोकिएको परीक्षा केन्द्रमा पुग्नु पर्नेछ । परीक्षालाई मर्यादित बनाउन सबै केन्द्रमा वैदेशिक रोजगार विभाग बाहेकका विभिन्न निकाय र मन्त्रालयका कर्मचारीलाई केन्द्राध्यक्षका रुपमा खटाइएको छ ।

वैदेशिक रोजगार विभागले आज भाषा परीक्षा गरी २ दिनभित्र कम्प्युटर प्रणालीबाट परीक्षण गरी नतिजा प्रकाशन गरिने भएकाले शंका गर्नुपर्ने ठाउँ नभएको निर्देशक ज्ञवालीले बताए । भाषा परीक्षाको नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तवार्ता गरी अन्तिम नामावली प्रकाशित गरिने छ ।

विभागको निर्देशक ज्ञवालीले परीक्षा, अन्तवार्ता लगायतका सबै प्रक्रिया एक महिनाभित्र सक्ने गरी काम भइरहेको बताए । विभागले आवेदन दिएका ९ हजार ६९९ आवेदकबाट भाषा परीक्षाका लागि ७ हजारको नामावली प्रकाशित गरे पनि सर्ट लिष्टमा १ हजार ४ को नाम छनोट गर्नेछ ।

यसरी छनोट भएकामध्ये ३०० पुरुष र ७०० महिलालाई इजरायल पठाउने गरी नेपालस्थित इजरायली दुतावासले चिठ्ठाबाट अन्तिम नामावली छनोट गरिने छ । चिठ्ठाबाट अन्तिम नामवाली प्रकाशित गरिने भएकाले लिखित परीक्षामा उच्च अंक ल्याएका परीक्षार्थी समेत छनोट नहुने सम्भावना रहेको विभागको भनाइ छ ।

उनले लोक सेवा आयोगले अवलम्बन गरेको ओएमआर पद्धतिबाट लिखित परीक्षा जाचँ गरिने बताए। यसरी ८० अंक लिखित परीक्षा र २० अंक शारीरिक परीक्षण तथा अन्तवार्ताबाट दिइने छ । परीक्षार्थीबीच २ मिटरको दुरी कायम गरी एउटा बेन्चमा एक परीक्षार्थी मात्र राखिने छ ।

प्रकाशित : 13 September, 2021

प्रतिक्रिया दिनुहोस्