चीनलाई काउन्टर दिन अमेरिका, बेलायत र अस्ट्रेलियाले गरे ‘ओकस’ सम्झौता

काठमाडौँ । भदौ ३१,अमेरिका, बेलायत र अस्ट्रेलियाले चीनको सामना गर्न परिष्कृत रक्षा प्रविधिहरु आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् । ‘ओकस’ नाम दिइएको सुरक्षा सम्झौता चीन लक्षित रहेको बताइएको छ ।
सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरेको छ । यस सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्षहरु आदानप्रदानमा सहकार्य हुने जनाइएको छ । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिकै कारण यी तीन देशले चीन लक्षित यो कदम चालेका हुन ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ सम्झौताले लामो समयसम्म इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्न भूमिका खेल्ने बताउनुभएको छ । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ ।
सन् २०१६ मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो । यता चीनले यस कदमको निन्दा गरेको छ ।
वासिङ्टनस्थिति चिनियाँ राजदूतावासले भने ती राष्ट्रहरूमा शीतयुद्धको मानसिकता रहेको आरोप समेत लगाएको छ ।