सात जिल्लामा आज कांग्रेसको वडा अधिवेशन
काठमाडौँ । असोज ५, नेपाली कांग्रेसको काठमाडौंसहित ७ जिल्लामा आज वडा अधिवेशन हुँदैछ । काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङ जिल्लामा वडा अधिवेशन हुन लागेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
मोरङमा क्रियाशील सदस्यता विवाद भएपछि एक पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै हिजो उच्च अदालतमा रिट निवेदन दर्ता गराएको हो । थापा पक्षले अधिवेशन सम्बन्धी सबै प्रक्रिया रोक्न माग गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेका थापासँगै कांग्रेसमा आएकाहरूले क्रियाशील सदस्यता नपाएको गुनासो गरेका छन् ।
क्रियाशील सदस्यता वितरणमा विवाद देखिएका २० जिल्लामा आज एक साथ वडा अधिवेशन गर्ने कार्यतालिका रहे पनि विवाद नटुंगिएका बाँकी १३ जिल्लाको अधिवेशन भने अनिश्चित बनेको छ ।
समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले ९ असोजमा गर्ने भनेको पालिका अधिवेशन प्रभावित हुने भएको छ । राजधानी काठमाडौंको वडा अधिवेशनलाई महत्वकासाथ हेरिएको छ ।
काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १ सय ३८ वडा छन् । काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्यहरू छन् ।