आजदेखि सोह्र श्राद्ध सुरु, तीर्थस्थलमा पितृ तर्पण दिनेको घुइँचो

सहयात्रा टिभी

काठमाडौँ । असोज ५, आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । भाद्र शुक्ल पूर्णिमाको दिनदेखि औँशीसम्म अर्थात् १६ दिन तिथिअनुसार श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।

सोह्र श्राद्धमा पितृहरूको उद्दारका लागि घर वा तीर्थस्थलमा श्राद्ध कर्म गरी पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन छ । ज्योतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरूका लागि वर्षको दुई पटक श्राद्ध अर्थात् पिण्डदान गरिन्छ ।

पितृहरू दिवंगत भएको वार्षिक तिथिमा अझ औँशीको दिनमा विशेष गरेर पितृका नाममा दान गर्ने, तर्पण दिने, पूजा गर्ने, यज्ञ गर्ने धार्मिक प्रचलन रहेको छ ।

सोह्र श्राद्धमा प्रत्येक तिथिका दिन मानिसहरू आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्छन् । जसलाई पूर्वजको मृत्यु तिथि थाहा हुँदैन, उनीहरूले औँशी तिथिमा श्राद्ध गर्ने मान्यता रहेको छ ।

सोह्र श्राद्धमा विशेषगरी मुस्ताङको कागवेनीमा भीड लाग्ने गर्छ । साथै, काठमाडौं उपत्यकाका गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको संगमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको संगमस्थल देवघाटलगायतका स्थानमा समेत श्राद्ध गर्नेको भीड लाग्छ ।

प्रकाशित : 21 September, 2021

प्रतिक्रिया दिनुहोस्