दशै नजिकिदै गर्दा सौराहामा पर्यटकको चहलपहल बढ्यो

सहयात्रा टिभी

चितवन । असोज ७, दशै नजिकिदै गर्दा पर्यटकहरुको भिड बढेको छ । कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् ।

लगातारजस्तो विदा पर्दा पर्यटकहरुको संख्या ह्वात्तै बढ्ने गरेको अध्यक्ष भट्टराईले बताए । सरकारले कर्मचारीहरुलाई दिने पर्यटकीय काज विदामा पर्यटकहरुलाई तान्ने कार्यक्रमहरुसमेत राख्ने सोच व्यवसायीले बनाएका छन् ।

क्षेत्रिय होटल संघ सौराहाका निवर्तमान अध्यक्ष तथा जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले कोरोना महामारीको लहर कम हुँदै जाँदा सौराहामा पर्यटकहरु बढ्न थालेको बताए ।

यस वर्ष लामो वर्षा, बाढी पहिरो र डुबानको कारण पनि पर्यटकहरुलाई घुम्न समस्या भएको व्यवसायीहरु बताउँछन् । व्यवसायीहरुले दशैं तिहारका लागि पर्यटकहरुलाई विषेश प्याकेजसमेत दिन थालेका छन् ।

आउने पर्यटकहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिने व्यवसायीको भनाइ छ । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले सौराहा आएका पर्यटकहरुमध्ये ९० प्रतिशत हात्तीसँग सम्वन्धित क्रियाकलापमा संलग्न हुने गरेको बताए ।

सौराहामा अहिले व्यवसायीहरुका ३३ वटा हात्ती छन् । कोरोना महामारी अघिसम्म ५५ हात्ती रहेको सौराहामा हात्ती पाल्न नसक्ने भन्दै कतिपय व्यवसायीहरुले हात्ती बेचे भने कतिपयले भाडामा ल्याएका हात्ती फिर्ता गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । उनले ३३ वटा हात्ती सौराहाका लागि पर्याप्त रहेको बताए । व्यवसायीले हात्ती बेच्न थालेपछि सर्वोच्च अदातलले भने हात्ती नबेच्न आदेश दिएको छ ।

प्रकाशित : 23 September, 2021

प्रतिक्रिया दिनुहोस्