कस्तूरी मृग पालनबाट ठुलो आम्दानी

सहयात्रा टिभी

काठमाडौं । असोज १५, कस्तूरी मृग बाख्राजस्तो देखिए पनि यसको शरीरको रंग खैरो हुन्छ ।

यो भीर, पहाडका अप्ठ्यारा खोच, चट्टान, भोजपत्र भएका वनक्षेत्रमा बस्न रुचाउँछ । यसैले यसको अवलोकन एवं सिकार गर्न निकै कठिन छ । तर पनि यसको बिना सुनजस्तै बहुमूल्य भएकाले विगत केही वर्षयता यसको चोरी–सिकारी गर्ने व्यक्तिहरूको संख्या दिन–प्रतिदिन बढिरहेको छ ।

यसबाट यहाँको कुल आम्दानीमा गिरावट आई अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको छ । तर, आजसम्म पनि सम्बन्धित पक्षको ध्यान यसतर्फ जान सकेको छैन ।

खासगरी एसिया महाद्वीपमा सात प्रजातिका कस्तूरी मृग पाइन्छन् । यस महादेशका हिमाली क्षेत्र भएका मुलुकहरू खासगरी नेपाल, भारत, चीन, पाकिस्तान, बर्मा, भुटान, अफगानिस्तान, रूस, मङ्गोलिया, कोरियालगायत १३ देशमा कस्तूरी मृग पाइन्छ ।

नेपालमा विशेषतः हिमाली र कश्मीरी गरी दुई प्रजातिका कस्तूरी मृग पाइन्छन् । योबाहेक यहाँ काली र अल्पाइन गरी थप दुई प्रजातिका कस्तूरी मृगहरू पनि पाइने विज्ञहरूको भनाइ रहेको छ । यहाँको पश्चिम हिमाली क्षेत्रमा र खासगरी कालीगण्डकी नदीदेखि पश्चिम हिमाली क्षेत्रमा कश्मीरी कस्तूरी मृग पाइन्छ भने सोही सीमादेखि पूर्वतर्फको हिमाली क्षेत्रमा हिमाली कस्तूरी मृग पाइन्छ ।

कस्तूरीको बिनालाई सुगन्धित पदार्थको रूपमा प्रयोग गर्ने देशहरूमा फ्रान्स र जापान अग्रपंक्तिमा छन् । एक अध्ययनअनुसार सन् १९८० देखि सन् १९९५ को अवधिमा झन्डै १ सय ८० कस्तूरी बिना फ्रान्सले आयात गरेको थियो ।

नेपालमा कस्तूरी मृगको बिनाको निर्यात गर्ने कानुनी प्रावधान छैन । तर, यो बहुमूल्य भएकाले यसको अवैध सिकार गरेर विश्व बजारमा व्यापार हुने गरेको विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । यसैले आगामी दिनहरूमा उपयुक्त कानुन विधि अपनाई यसको निर्यात गर्न सके यहाँको समृद्धिमा निकै टेवा पुग्नेछ । यसका लागि सम्बन्धित निकायको ध्यान यथाशीघ्र जानु आवश्यक छ ।

प्रकाशित : 1 October, 2021

प्रतिक्रिया दिनुहोस्